
झापा, १४ माघ । झापाको मेचीनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा गत माघ ११ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ ।
काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–७ का ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन् ।
कल्पनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस दुर्घटनामा संलग्न ४२६५ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका–६ का ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काकँरभिट्टाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


