
झापा, १७ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मेचीनगर–६ का ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
भारततर्फबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ‘ब्यारीकेट’मा ठोक्किँदा मोटरसाइकल चालक ३५ वर्षीय काशिनाथ पौडेल र कटुवाल घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कटुवाललाई धुलाबारीस्थित आम्दा अस्पतालमा उपचारका लागि लगिएकोमा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते पौडेललाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ ।
मृतक कटवालको शव आम्दा अस्पतालमै रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


