
बिर्तामोड, १९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बद्लिएर निर्वाचनमा होमिएको बताउनुभएको छ ।
कांग्रेस चुनाव प्रचार समिति झापा क्षेत्र नं. २ ले बिर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले कांग्रेसले आफैँबाट नेतृत्व र नीति परिवर्तन गरेर चुनावमा होमिएको बताउनुभयो ।
“हामी त्यसै आएका छैनौं”, उहाँले भन्नुभयो, “दूर दराजका सबै क्षेत्र घुमेर त्यसको विकासका लागि योजनासहित आएका छौं ।” जेनजी विद्रोहपछि टुटेको दलहरुप्रतिको जनविश्वास जोड्ने तागत कांग्रेसमा मात्रै भएको उहाँले बताउनुभयो ।
“जेनजीले उठाएको माग सम्बोधन गर्ने क्षमता कांग्रेसमा छ”, उपसभापति शर्माले भन्नुभयो, “नीति र नेतृत्व बदलेर देश बनाउने संकल्पसहित कांग्रेस अघि बढेको छ ।” विशेष महाधिवेशनको चर्चा गर्दै उहाँले पार्टीमा परिवर्तन चाहने र नचाहने भनेर व्यर्थको बहस नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । एकढिक्का भएर मतपरिणाम पार्टीको पक्षमा पार्न काममा खटिन कार्यकर्तालाई उहाँले आह्वान गर्नुभयो ।
कांग्रेसले यस पटक १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेद्वार बनाउनुका साथै महिला उम्मेदवार विगतको तुलनामा दोब्बर बनाएकाले कार्यकर्तामा उत्साह बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी, कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापा, झापा क्षेत्र नम्बर–२ की उम्मेदवार सरिता प्रसाईं, समानुपातिक उम्मेद्वार मनुमाया विश्वकर्मा, उमा शिवाकोटीले लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं. २ का सभापति खगेन्द्र मैनालीले निर्वाचन परिचालन एवम् प्रचार–प्रसारका विषयमा भए÷ गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । क्षेत्रीय सचिव चन्द्र चुडालले सञ्चालन गर्नुभएको कार्यक्रममा ‘हेरन शहीदहरुलाई…’ बोलको गीत सन्तोष रायमाझीले प्रस्तुत गर्नुभएको थियो ।



