
सन्तोष शर्मा
झापा, २५ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै झापामा चुनावी चहल पहल बढ्दै गएको छ । झापा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दिएका छन् । जसमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवार छन् ।
झापा–४ मा कति छन् मतदाता ?
झापा क्षेत्र नम्बर ४ मा १ लाख ३० हजार ७१२ जना मतदाता रहेका छन् । जसमा पुरुषको संख्या ६६ हजार २८३, महिलाको संख्या ६४ हजार ४२८ र अन्य १ जना मतदाता रहेका छन् ।

यस क्षेत्रमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला र १ जना अन्य गरी १ लाख २३ हजार १२४ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनको तुलनामा यस पटक ७ हजार ५८८ जना मतदाता थपिएका छन् ।
झापा क्षेत्र नम्बर ४ मा कनकाई नगरपालिकाको १ देखि ७ नम्बर वडा, झापा गाउँपालिका, शिवशताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर १ र २ र गौरादह नगरपालिकाको ९ नम्बर वडा पर्दछ ।
झापा–४ मा १६ प्रतिस्पर्धी
झापा क्षेत्र नम्बर ४ मा १ जना स्वतन्त्रसहित १६ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।
एमालेबाट लालप्रसाद साँवा लिम्बू, नेपाली कांग्रेसबाट देउकुमार थेवे, नेपाली कम्युनिस्ट पार्टीबाट पुरुषोतम चुडाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला उम्मेदवार छन् ।
त्यस्तै, मंगोल नेशनल अर्गनाइजेशनबाट दिलिप धिमाल, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) बाट टेकबहादुर अधिकारी, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरण लिम्बू लिङ्देन, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ताराबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट तुलसी लक्ष्मी दुमरु, स्वतन्त्र उम्मेदवार साजन माझी, जनता समाजवादी पार्टीबाट पल्टन ताजपुरिया, जनमत पार्टीबाट लोश्रो हेमरम, राष्ट्रिय मुक्ति पार्टीबाट त्रिनारायण राजवंशी चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तो थियो अघिल्लो मत परिणाम
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका लालप्रसाद साँवा लिम्बू २९ हजार ३१५ मतका साथ निर्वाचित हुनुभएको थियो । उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत पाउनुभएको थियो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत, स्वतन्त्र उम्मेदवार बन्नुभएकी खुश्बु ओलीले ५ हजार १० मत प्राप्त गर्नुभएको थियो । अन्य १० जना उम्मेदवारले १ हजार मत पनि कटाएका थिएनन् ।
सोही निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले २३ हजार ४११, नेपाली कांग्रेसले १७ हजार ३७४, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार १६०, नेकपा माओवादी केन्द्र÷ नेपाल समाजवादी पार्टीले (एकल चिन्ह) ६ हजार ४६५ मत पाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ४१५ मत प्राप्त गरेको थियो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ४०७, हाम्रो नेपाली पार्टीले १ हजार ३३५ मत पाएको थियो भने अन्य ४० वटा दलले ६५५ देखि १ मतसम्म पाएका थिए ।

