
झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गत माघ २१ गते बिहान बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बास्कोटालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बास्कोटालाई उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड पठाइएको थियो ।
उपचारकै क्रममा माघ २४ गते राति ९ः१० बजे बास्कोटाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा संलग्न स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटी समेत प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



