
मेचीनगर, २५ माघ । नेपाल जनमुक्ति पार्टीका झापा क्षेत्र नम्बर-१ का उम्मेदवार खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार इन्जिनियर अशेष घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
उम्मेद्वार करुवाले आज आइतबार साँझ पत्रकारसमक्ष आफ्नो उम्मेद्वारी फिर्ता लिँदै उक्त घोषणा गरेका हुन् । उनले प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ मा उम्मेद्वारी दर्ता गरेका थिए । उनलाई निर्वाचन आयोगले घर चिन्ह प्रदान गरेको थियोे ।

मेचीनगर वडा नं.७ मैनाडाँगी निवासी चिया श्रमिक करुवाले आफ्नो उम्मेद्वार फिर्ता लिएसँगै नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार इन्जिनियर घिमिरेको तारा चुनाव चिह्नमा मतदान गर्न शुभेच्छुकहरुलाई अपिल समेत गरेका छन् ।
सोही अवसरमा नेकपाका उम्मेद्वार घिमिरेले आफुलाई समर्थन जनाउने करुवालाई पार्टीको चुनाव चिह्न ताराको ब्याच लगाइदिएका थिए । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नं.१ चुनाव परिचालन कमिटीका संयोजक श्यामवीर लिम्बुले करुवालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका सहसंयोजक वीपी भट्टराई, राजु दाहाल, कृष्णकौशल सिटौला लगायतको सहभागीता रहेको थियो । गत माघ ६ गते प्रतिनिधि सभा सदस्य उम्मेद्वारीका लागि नियमअनुसारको १० हजार रुपैयाँ बुझाएर उम्मेद्वारी मनोनयन दर्ता गरेका थिए ।

