
बिर्तामोड, २६ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन् ।
माघ २४ गते साँझ करिब ८ः३० बजे बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकलले बाटोमा रोकी राखिएको मे १ त ७७६७ नम्बरको ट्र्याक्टरको पछाडिको डालामा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी ३५ वर्षीय प्रबिण आङ्देम्बे गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा माघ २६ गते दिउँसो करिब २ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमै राखिएको छ ।
त्यसै, मोटरसाइकलमा पछाडि सवार पाँचथर फाल्गुनन्द गाउँपालिका–७ निवासी हाल बिर्तामोड नगरपालिका–१ बस्ने ४८ वर्षीय हरी आङदेम्बे पनि घाइते भई बीएण्डसी अस्पतालमा उपचाररत छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल, ट्र्याक्टर तथा ट्र्याक्टर चालक मेचीनगर नगरपालिका–२ निवासी ४० वर्षीय बिरबहादुर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।

