
समिता आचार्य
भद्रपुर, २७ माघ । झापामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप धमाधम लगाइँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत माघ २५ गतेदेखि शुरु भएको खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
खोप अभियान अन्तरगत जिल्लाका १५ वटा पालिकाका सामुदायिक विद्यालयका कक्षा–६ मा अध्ययनरत छात्रा १० हजार एक सय ५२, सामुदायिक, संस्थागत विद्यालय बाहेकका विद्यालयमा अध्ययनरत १० वर्षसम्मका तीन सय ३० र विद्यालय नजाने १० वर्षसम्मका सात सय गरी ११ हजार एक सय ८२ जना बालिकालाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

झापाको मेचीनगर नगरपालिकामा एक हजार तीन सय ५६, बुद्धशान्ति गाउँपालिकामा सात सय एक, अर्जुनधारा नगरपालिकामा सात सय २१, शिवसताक्षी नगरपालिकाका सात सय ७६, कनकाई नगरपालिकामा छ सय ६०, कमल गाउँपालिकामा पाँच सय ५८, दमक नगरपालिकामा एक हजार पाँच सय ६३, गौरादह नगरपालिकामा पाँच सय ८५, गौरीगञ्ज गाउँपालिकामा आठ सय चार, झापा गाउँपालिकामा चार सय ७३, बाह्रदशी गाउँपालिकामा चार सय २३, बिर्तामोड नगरपालिकामा एक हजार चार सय २४, हल्दिबारी गाउँपालिकामा तीन सय ७४, भद्रपुर नगरपालिकामा सात सय ६५ र कचनकवल गाउँपालिकामा चार सय ३२ जना बालिकालाई एचपीभी खोप लगाउने लक्ष्य लिइएको छ ।
एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्क भएर लगाउन आग्रह गरिएको छ ।

