
झिलझिले, २७ माघ । सेभेनसिज पब्लिक अंग्रेजी माध्यमिक विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड जितेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि स्थानीय वडा नम्बर ८ को सेभेनसिज पब्लिक अंग्रेजी माद्यमिक विद्यालयले हात पारेको शिवशताक्षी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए । यससँगै विद्यालयले लगातार दोस्रो पटक राष्ट्रपति रनिङ सिल्ड जित्दै खेलकुद क्षमताको उत्कृष्टता पुनः प्रमाणित गरेको छ ।

नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ३५ प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै सेभेनसिजले ९ वटा स्वर्ण, ७ वटा रजत र ९ वटा काँस्य पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।
त्यसैगरी, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले ९ वटा स्वर्ण, ६ वटा रजत र ७ वटा काँस्य पदक जितेर दोस्रो स्थान प्राप्त गरेको छ भने झिलझिले माध्यमिक विद्यालयले ८ वटा स्वर्ण, ३ वटा रजत र ८ वटा काँस्य पदक सहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।
दुधेस्थित दुधे रङ्गशालामा आयोजित प्रतियोगितामा एथलेटिक्स, कराते, भलिबल, कबड्डी र तेक्वान्डो गरी पाँच विधाका खेल समावेश गरिएको थियो ।
माघ २४ गतेदेखि सुरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको थियो । पदक विजेता विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक दीपक कडरिया, सञ्चालक समितिकी सदस्य ज्योति राई लगायतले खादा, अविर तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

