
बिर्तामोड, २८ माघ । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी सातौं एक्सट्रिम झापा गोल्डकपमा एपिएफ फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भएका छन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।

प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट काटेर खेल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

