
भद्रपुर, २ फागुन । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुरको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
फागुन २ गते प्रेस क्लबको प्रेक्षालयमा सम्पन्न साधारण सभामा कवि महेन्द्र कोइरालाको एकल कविता वाचन कार्यक्रम पनि भएको थियो । जसमा कवि कोइरालाले आफ्ना सात वटा कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षताको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगर कला, साहित्य, संगीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल रहेका थिए भने प्रतिष्ठानका संस्थापक सल्लाहकार राजेश ढुङ्गानाको विशेष आतिथ्य रहेको थियो ।
कोइरालाको कवितामाथि प्राडा. गंगाप्रसाद अधिकारीले प्रकाश पार्नुअघि कविको परिचय साहित्यकार लता खरेलले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर र बहुभाषिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हरि पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभाले प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालकै अध्यक्षतामा तीन वषेर् कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा विकास पाण्डे, सचिवमा महेन्द्र कोइराला, कोषाध्यक्षमा प्रिया दास तथा सदस्यहरुमा गोपाल शिवाकोटी, गीता सुवेदी नेपाल र द्रोण अधिकारीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठानका प्रतिष्ठानका सदस्य गोपाल सिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विकास पाण्डे (बोधराज) ले गरेका थिए ।

