
भद्रपुर, ३ फागुन । भद्रपुरस्थित वडा प्रहरी कार्यालयको प्रहरी टोलीले लागुऔषध सेवन गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो ३ः४० बजे गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक मोतिलाल योन्जन तमाङको कमाण्डमा खटिएको टोलीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा जगतबहादुर मगरको घर भाडामा बस्दै आएका युवाहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित तौल गर्दा १० ग्राम ३८० मिलिग्राम (प्लास्टिकबाहेक ९ ग्राम ५८० मिलिग्राम) बरामद भएको प्रहरीले जनाएको छ।

साथै, कृष्ण राजवंशीको नाममा दर्ता भएको मे १० प ३८ ७१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर–८ का २८ वर्षीय कृष्ण राजवंशी, १८ वर्षीय निशान मोहमत, १९ वर्षीय इम्रान मोहमत, भद्रपुर–१० का २४ वर्षीय मोहमत जाहित र बिर्तामोड–३ का २३ वर्षीय निशान चौधरी रहेका छन् । उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

