
बिर्तामोड, ३ फागुन । सातौं झापा गोल्डकपको उपाधिमा मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी गरेका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित प्रि म्याच कन्फ्रेन्समा फाइनलमा पुगेका दुबै टिमले उपाधि हात पक्षमा पार्ने दबी प्रस्ततु गरेका हुन् ।
मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटवालले अहिले चलिरहेका अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा फोकस गरेको बताए । उनले मच्छिन्द्रको ए टिम मैदानमा उतार्ने बताएका छन् । उनले अधिकांस झापाली खेलाडी समेटेर बनाएको टिमलाई दर्शकको समर्थनसमेत जितको एउटा आधार हुने बताए ।

त्यसैगरी एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमासमेत उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो दर्जाका खेलाडीले सशक्त प्रदर्शन गर्ने बताए । उनले पनि झापा गोल्डकपलाई नै फोकस गरेर केही समयदेखि पूर्ण तयारी गरेको जानकारी दिए । मच्छिन्द्रका कप्तान बिशाल श्रेष्ठले अधिकांस खेलाडी मैदानसँग परिचित भएका कारण होम ग्राउण्डमा खेलेको अनुभव हुने भएको भन्दै खेलका लागि सहज हुने बताए । उनका अनुसार मच्छिन्द्रको लागि जित नै पहिलो लक्ष्य हो ।
एपीएफका कप्तान हरी कार्कीले आयोजक टिमलाई पराजति गरेर मनोबल उच्च बनाएको बताए । सोमबार हुने फाइनलमा उपाधी हात पारेर झापा गोल्डकपको इतिहाँसमा नयाँ रेकर्ड बनाउने उद्घोष उनले गरे ।
झापा गोल्डकपको बिजेताले नगद १५ लाख, उपबिजेताले ७ लाख ५० हजार रुपैंयाँ, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाउने छ । फाइनलका उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर र गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एकजना दर्शकले गोलाप्रथाबाट यामाहा कम्पनीको एउटा स्कुटर पाउने छ ।

