
राजेश ढुंगाना
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन–२०८२ नेपाली कांग्रेसको आन्तरिक जीवनमा मात्र होइन, मुलुकको सिङ्गै प्रजातान्त्रिक आन्दोलनमा एउटा महŒवपूर्ण घटना बनेको छ । जनछवि पूर्णतः गुमाइसकेको कांग्रेस यथास्थितिमा रहनु भनेको कांग्रेस समाप्तिको अनिवार्य स्थिति त थियो नै, मुलुकको प्रजातान्त्रिक आन्दोलनमै एउटा अपुरणीय क्षति पनि भएको थियो ।
नेतृत्वको, विशेषतः गिरिजाप्रसाद कोइरालाद्वारा थालिएको बेथितिलाई शेरबहादुर देउवाले जसरी चरमचुलीमा पु¥याए, त्यसले कांग्रेसको आन्तरिक जीवन भ्रष्ट मात्र भएन; शासन शैली पनि भ्रष्टाचारमय भएर कुशासनको ठूलो दबदबामा प¥यो । मुलुकमा प्रजातन्त्र स्थापनार्थ ७० वर्ष लडाइँ गरेको दल र उसको शासनकाल जनउत्तरदायी हुनुको सट्टा अनियमितताको चरम पर्याय नै भयो । यसले गर्दा कांग्रेसको जीवनमा ठूलो नकारात्मक धक्का पुग्यो । यतिसम्म त ठीकै थियो; नेतृत्वको कर्तुतले कांग्रेसले यति र यो नियति भोग्नु नै थियो । तर, मुलुकले नै जुन क्षति बेहो¥यो अनि त्यो र त्यसबाट कांग्रेसले यसका निमित्त इतिहासमा कहिल्यै क्षमा पाउने छैन; र पाउनु पनि हुँदैन ।

गिरिजाप्रसाद कोइरालाको बेलादेखि प्रारम्भ भएको बेथिति राज्य सञ्चालनमा मात्र सीमित भएन । स्वयं पार्टीभित्र भ्रष्टाचार र अनियमितता निर्लज्जतापूर्वक भयो । राजदूत, संवैधानिक आयोगका प्रमुख, संस्थानका मुख्य र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका टिकट खुलेआम बेचियो – बिना कुनै लाज र सङ्कोच ! यति भएपछि कांग्रेसलाई गम्भीर क्षति बेहोर्नबाट के र कसले रोक्न सक्थ्यो र ? सकेन र सकिएन पनि । पहिरो गयो – कांग्रेसको पहाडमा ।
तथापि, भर्खरैको विशेष महाधिवेशन पश्चात् कांग्रेसको नयाँ नेतृत्वले अलि भिन्नै रूप र शैली देखाउने प्रतिबद्धता गर्दैछ । थाहा छैन, त्यो प्रतिबद्धता चुनावसम्म मात्र रहने हो कि निरन्तर जाने हो – त्यसको आकलन अहिले नै गर्नु हतारो हुने छ ।
बाबु र दाजु सामन्त भएपछि छोरो र भाइ पनि सामन्ती मानसिकता र व्यवहारबाट मुक्त हुन धेरै कठिन हुन्छ । त्यसैले अहिले ‘बदलिएको’ भनिएको कांग्रेसले पुनः विगतको नेतृत्वकै कर्मको पुनरावृत्ति गर्ने छैन भन्ने ठोकुवा गर्ने आधार वर्तमान नेतृत्वले स्पष्ट र ठोस रुपमा प्रमाणित गर्नै पर्ने छ — त्यो पनि भाषणमा होइन, काम नै गरेर ।
कांग्रेसको समाप्त भएपछिको जनछवि उकास्न अब सानो प्रयत्नले सम्भव छैन । हिजो देउवा मात्र नेतृत्वमा थिएनन्, गगन र विश्वप्रकाश एवं उनीहरूको समूह पनि नेतृत्वमै थियो । त्यसले हिजो बिग्रेको कुराको अपजश र जिम्मा पनि कुनै न कुनै मात्राको भाग उनीहरूमा पनि पर्छ नै ।
त्यसैले विशेष महाधिवेशन नै कांग्रेस सुधारिएर आउने एक मात्र आधार र प्रमाण होइन । त्यसमाथि विगतमा बिग्रिएको भनिएको केन्द्रदेखि गाउँसम्मको नेतृत्व अझै पनि कांग्रेसभित्रै छ । त्यसलाई कसरी पन्छाउने ?—अहिलेको नेतृत्व समक्ष अहम् प्रश्न जस्ताको तस्तै विकराल रूपमा ठिङ्ग उभिएकै छ ।
विशेष महाधिवेशन मार्फत नेतृत्वको अनुहार पक्कै पनि बदलियो । तर, कांग्रेस र कांग्रेसीहरूको मानसिकता पनि बदलिन्छ कि फेरि पनि उस्तै रहन्छ — मूल प्रश्न यो भएको छ । नेताको अनुहार बदल्ने, तर मानसिकता उही भ्रष्ट राख्ने हो भने विशेष महाधिवेशनको अर्थ र औचित्य केही पनि रहने छैन ।
यद्यपि पुरानो नेतृत्व जस्तै ‘नयाँ’ भनिएको अहिलेको नेतृत्वलाई अहिले नै आक्षेपपूर्ण निष्कर्ष निकालेर प्रहार गर्न जायज हुन्न । तर पनि एउटै ‘स्कूलिङ’बाट आएका विद्यार्थीबाट फरक–फरक चेतको अपेक्षा गर्नु पनि नाजायज ठहर्दैन ।
निष्कर्षमा भन्नुपर्दा, कांग्रेस कुहिएको फर्सी भइसकेको कुरा सत्य हो — यसको अघिल्लो नेतृत्वले गर्दा । त्यसैले एउटै स्कूलबाट आएको नयाँ भनिने नेतृत्वले त्यो कुहिएको सिङ्गो फर्सीबाट आधा भाग सद्ये पार्न कसरी सक्ने हो ? शायद नयाँ नेतृत्वलाई यसको सकस परिरहेको होला । यसमा अहिलेको नेतृत्व चुक्यो भने कांग्रेस पुरानै स्थितिमा फर्कने मात्र छैन, अझ दुर्गतिमा फस्ने छ । त्यसैले सबैभन्दा पहिले अनुहारमा नयाँ भनिएको नेतृत्वले आफ्ना अघिल्तिरको चुनौतिको चाङलाई कसरी पहिचान गर्ने हो र त्यसको उचित समाधान पनि कसरी गर्ने हो ? — कांग्रेसको भविष्यका लागि यसको उत्तर केही समय पर्खनै पर्ने हुन्छ ।

