
लीलाराज झापाली
झापा गाउँपालिका, ८ फागुन । १० वर्षे माओवादी जनयुद्धमा राज्यपक्षबाट शहिद भएका शहिद परिवारसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडालले भेटघाटलाई तीव्र बनाएका छन् । उनले झापा क्षेत्र नम्बर ४ अन्तरगत झापा गाउँपालिका–१ का शहिद परिवारसँगको भेटघाट तीव्र बनाएका हुन् ।
उनी समेत माओवादी जनयुद्धकालमा वर्षौंसम्म कठोर बन्दी जीवन बिताएका राजनीति पीडित युवा हुन् । उनलाई झापाको सुरुङ्गाबाट पक्राउ गरी तत्कालीन शाही सेनाले महिनौंसम्म बेपत्ता बनाएको थियो । सेना–प्रहरीको आक्रमणमा परेर मृत्यु भएका झापा गाउँपालिका–१ सितुमारीका भीम खनाल (बाबा) र डिल्लीराम लिम्बू (गगन)को घरमा उम्मेदवार चुडाल पुग्दा घरमा सबैको आँखामा आँशु रसाएका थिए ।

निर्वाचनकै दौरानमा लामो समय जनयुद्धकालमै जेल जीवन बिताएकी अर्की नेपाली कम्युनिष्ट पार्टीकी समानुपातिक उम्मेदवर समेत रहेकी ममता राजवंशी समेत रहनुभएको थियो । घरदैलोका क्रममा शहिद परिवारसँग जेल जीवन र त्यसअघिपछिका आफूले गुमाएका ती मित्रहरुसँग आन्दोलनका बेला बिताएका क्षणका बारेमा समेत केहीवेर भलाकुसारी भएको थियो ।
‘हामीसँगै पक्राउ परेका थियौं, सेनाले पिटेर मेरो दाँत झारिदियो, अङ्गभङ्ग बनायो तर म बाँच्न सकेँ अहिले उम्मेदवार बनेर तपाईंको घरमा फेरी आइपुगे आमा’ भन्दै भीम खनालको घरमा उम्मेदवर चुडाल पुग्दा शहिद परिवारकी आमा कौशिल्या खनाल थप भावुक बनेकी थिइन । उनले देशको मुक्तिका लागि आफूले छोरोको बलिदान दिएको बताउँदै आवश्यक परेको खण्डमा अझै पनि थप बलिदान गर्न तयार भएको बताउँदै आर्शिवाद प्रदान गरेकी थिइन् ।
यता, सितुमारीकै अर्का शहिद परिवार डिल्लीराम लिम्बू (गगन) की आमा टिकामाया लिम्बूले आफूले जनयुद्धमा छोरा गुमाए पनि देशका नागरिक रैतिबाट मान्छे बनेको भन्दै आफू आवश्यक परेको खण्डमा अझै बलिदान दिन तयार भएको बताइन् । ‘मैले एक जना छोरा गुमाएँ तर त्यसको बदलामा देश कहालिलाग्दो राजाको शासनबाट जनताको छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री बन्ने दिन आयो, अझै पनि देशलाई हामीले मुक्ति दिन सकेका रहेन छौं’, टिकामायाले भन्नुभयो, ‘हाम्रा छोराले बलिदानी दिएर देश मुक्ति दिलाइ पनि देशका सारा जनतालाई त्यो गरिबीबाट मुक्ति दिन सकेका छैनौं, हामीले जनतालाई अधिकार सम्पन्न त बनायौं, अब रोग भोग र गरिबीबाट समेत मुक्ति दिलाउँनु छ ।’
शहिद परिवारसगको भेटघाटमा जिउदो सहिद मानिने जनयुद्धका घाइते योद्धा मणिकुमार साम्पाङ विजय, पार्टीका प्रदेश सदस्य गौरीमान राई, नेपाली कम्युनिष्ट पार्टीका झापा गाउँपालिका अध्यक्ष रुद्रप्रसाद बजगाईं, नेपाली कम्युनिष्ट पार्टीका झापा इञ्चार्ज ज्याबुल हक लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, झापा क्षेत्र नम्बर ४ का नेकपा उम्मेदवार चुडाल र समानुपातिककी उम्मेदवार राजवंशीले झापा गाउँपालिका–१ र २ मा रहेको सुकुम्वासी बस्ती, मुस्लिम बस्ती, खयरबारी, पुरानो शरणामती बजार, झापा बजार, सिमलवारी लगायतका क्षेत्रमा घरदैलो र कोणसभा गरेका छन् ।

