
झापा, २५ फागुन । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका ९० जनामध्ये ७८ जनाको धरौटी रकम (जमानत) जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी प्रावधान अनुरुप जिल्लाका ७८ जना उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

झापा क्षेत्र नं. १ मा १५ जना उम्मेदवारमध्ये १२ जना, क्षेत्र नं. २ मा १८ जना उम्मेदवारमध्ये १६ जना, क्षेत्र नं. ३ मा १७ जना उम्मेदवारमध्ये १५ जना, क्षेत्र नं.४ मा १६ जना उम्मेदवारमध्ये १३ जना र क्षेत्र नं. ५ मा २४ जना उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको उहाँले बताउनुभयो ।

