
बिर्तामोड, २ चैत । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि चैत १ गते सञ्चालन इजाजतपत्र प्राप्त गरेको हो ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले प्राप्त गरेको इजाजतपत्र नं २०६९–०२६७८ रहेको छ । संस्था प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीमा दर्ता रहेको छ ।
साविकको डिभिजन सहकारी कार्यालय भद्रपुर झापामा दर्ता भएको सहकारी संस्थाको झापा जिल्लाको बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, बुद्धशान्ति र बह्रदशी गाउँपालिकाभरि कार्यक्षेत्र रहेको संस्थाका व्यवस्थापक तीर्थराज तिम्सिनाले बताए ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरण गर्न गत मंसिर १० गतेबाट अनलाइन पोर्टलमार्फत सुरु गरेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानूनी व्यवस्था छ ।
सञ्चालन अनुमतिपत्रका लागि प्राधिकरणको अनलाइन मार्फत अभिलेखीकरण गर्नुपर्ने हुन्छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरणका लागि यही चैत १७ गतेसम्म समय थप गरेको छ ।


