
एजेन्सी, ३ चैत । पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ।
राजधानीको एउटा लागूऔषध पुनर्स्थापना अस्पतालमा पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएका र २५० जना घाइते भएका भनेर अफगनिस्तानको तालिबान सरकारका एक प्रवक्ताले आरोप लगाएका छन्।
पाकिस्तानले भने उक्त दाबीलाई झूटो र भ्रामक भन्दै अस्वीकार गरेको भनेर समाचार संस्था रोएटर्सले जनाएको छ। आफूले सोमबार राति सैन्य प्रतिष्ठानहरू र आतंकवादी सहायता पूर्वाधारमाथि सटिक प्रहार गरेको पाकिस्तानले बताएको छ।
चीनले दुई छिमेकी राष्ट्रलाई वार्ताको टेबलमा फर्कन आग्रह गरेको केही घण्टापछि पाकिस्तानले उक्त हवाई आक्रमण गरेको हो।
करिब २६ सय किलोमिटर सीमा जोडिएका दुई दक्षिण एसियाली इस्लामिक राष्ट्रहरूबीच गत महिनादेखि द्वन्द्व भइरहेको छ।
चीन लगायतका मित्र राष्ट्रहरूले मध्यस्थता गर्ने र लडाइँ अन्त्य गर्ने प्रयास गरेपछि यो केही कम भएको थियो। तर मुस्लिमहरूको पवित्र महिना रमजानको अन्त्य हुने इद(अल(फित्र पर्वको केही दिन अघि यो फेरि चर्किएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


