
धरान, ६ जेठ । धरान उपमहानगरपालिकाबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१७ स्थित पशुपति चोकबाट मङ्गलबार राति बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानको प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा धरान–१७ बस्ने ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशालराज धामी रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बरामद गरिएको लागुऔषध ब्राउन सुगर नापतौल गर्दा १५ दशमलव ३ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


