
झापा, ६ जेठ । झापाको अर्जुनधारामा धकेलेर महिलाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५, कञ्चनबारी बस्ने २४ वर्षीय किरण गौतम रहनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिका–८, कुशलचोक बस्ने यामबहादुर बस्नेतकी श्रीमती २९ वर्षीया काजल सुवेदी बस्नेतलाई धकेलेर हत्या गरेको आरोप छ ।
घटनाको विवरण अनुसार जेठ २ गते राति करिब ९ः १५ बजे अर्जुनधारा नगरपालिका–८, कुशलचोकस्थित एम्स सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमतर्फ रहेको खुला चौरमा गौतम र बस्नेत अत्यधिक मदिरा सेवन गरी बस्नुभएको थियो । सोही क्रममा उहाँहरूबिच विवाद भएको थियो ।
विवादका क्रममा गौतमले बस्नेतलाई धकेल्दा उहाँ खुला चौरको बिचमा सिमानाका लागि बनाइएको कङ्क्रिटको प्लममा ठोक्किनु भएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाइते हुनुभएको उहाँलाई स्थानीयले फेला पारी उपचारका लागि शङ्कर अस्पताल पठाएका थिए ।
त्यसपछि उहाँलाई थप उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान ४ः४० बजे उहाँको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अभियुक्त गौतमलाई घटनापछि नियन्त्रणमा लिएको थियो । उनलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट ५ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको बुझिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


