
शिवसताक्षी, ६ चैत । प्राइम कमर्सियल बैंक लिमिटेडले शिवसताक्षी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको झिलझिले शाखाको आयोजनामा शुक्रबार लालझोडा स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई बैंकिङ प्रणालीबारे आधारभूत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बैंकमा खाता खोल्ने प्रक्रिया, बचतको महत्व, बैंक तथा वित्तीय संस्थाको भूमिका, सेवा उपयोग गर्ने तरिका तथा त्यससँग सम्बन्धित चुनौतीहरूबारे जानकारी दिइएको प्राइम बैंक झिलझिले शाखा प्रमुख दिनेश लुईटेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले डिजिटल बैंकिङ, एटीएम, मोबाइल बैंकिङ तथा अनलाइन भुक्तानी प्रणालीको प्रयोगबारे पनि व्यवहारिक जानकारी पाएका थिए । साथै, वित्तीय अनुशासन कायम राख्दै सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नुपर्ने विषयमा जोड दिइएको थियो।
बैंकका प्रतिनिधिहरूले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक निर्णय क्षमता बढाउने र भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । उनीहरूले विद्यार्थीहरूलाई सुरक्षित बैंकिङ अभ्यास अपनाउन तथा अनावश्यक ऋण र आर्थिक जोखिमबाट जोगिन सचेत गराएका थिए ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले कार्यक्रम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । यस्ता कार्यक्रमले विद्यार्थीमा आर्थिक सचेतना बढाउने र व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
वित्तीय साक्षरता कार्यक्रमको बैंकका कर्मचारी पवन प्रसाईले सहजीकरण गर्नु भएको थियो भने रमा रिमालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा भानु माध्यमिक विद्यालयका कक्षा ११ र १२ का ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्राइम कमर्सियल बैंकले आगामी दिनमा पनि विभिन्न विद्यालय तथा समुदायमा यस्ता वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।


