
काठमाडौँ, १८ चैत । भोलि चैत १९ गतेदेखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बिहीबार बिहान ८ बजेदेखि जापानमा एक समेत गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा एकै पटक परीक्षा सुरु हुदैछ । एसइई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष एसइई मा कूल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले क्षेत्रगत रूपमा सबैभन्दा धेरै बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट विद्यार्थी सहभागी हुने जानकारी दिएको छ । परीक्षामा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थीहरूको सहभागिता हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक विष्णु प्रसाद ज्ञवालीले सातै प्रदेशका सबै जिल्लामा केन्द्राक्ष्यक्ष, सहायक केन्द्राक्ष्यक्ष, कर्मचारी, निरीक्षक, सुरक्षाकर्मी लगायतका आवश्यक जनशक्ति, सुरक्षा व्यवस्था मिलाउनुका साथै प्रश्नपत्र सुरक्षित रुपमा पु¥याइसकेको जानकारी दिनुभयो ।
उपनियन्त्रक ज्ञवालीले दुर्गम क्षेत्रमा सहज स्थानहरूमा परीक्षा केन्द्र निर्धारण, अपाङ्गताको प्रकृति अनुसार केन्द्राक्ष्यक्षले १ घण्टा ३० मिनेटसम्म समय थप गर्न पाउने व्यवस्था, सुधार केन्द्रका विद्यार्थी लगायत सबै कारागार तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि आवश्यक सुविधा सुनिश्चित गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक सामूहिक अनुगमनको व्यवस्था हटाइएको छ । यसको सट्टा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्र बाहिरबाट मात्र अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ । बोर्डले एक महिनामै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


