
झापा, २ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले सडकपेटी अतिक्रमण गरी राखिएका सामग्री हटाउने भएको छ ।
नगरपालिकाले शनिश्चरे बजार क्षेत्रमा रहेका केही व्यवसायिक पसलहरूले व्यवसाय सञ्चालनका क्रममा फुटपाथमै विभिन्न सामग्री राखेर सडकपेटी अतिक्रमण गरेको पाइएकाले हटाउन लागिएको जनाएको छ ।
नगरपालिकाद्वारा जारी सूचनामा सडकपेटी अतिक्रमणका कारण सर्वसाधारण नागरिकको आवागमनमा बाधा पुगेको, बजार क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परेको तथा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गरिएको छ ।
सार्वजनिक सडक तथा सडकपेटी नागरिकहरूको सुरक्षित आवतजावतका लागि प्रयोग हुने सार्वजनिक सम्पत्ति भएकाले कुनै पनि व्यक्ति वा व्यवसायीले सडकपेटी ओगटेर व्यवसाय सञ्चालन गर्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेद्वारा हस्ताक्षरित सूचनामा शनिश्चरे बजार क्षेत्रमा सडकपेटी अतिक्रमण गरी राखिएका बोर्ड, स्ट्यान्ड, टहरा लगायतका सम्पूर्ण सामग्री सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र अनिवार्य रूपमा हटाई सडकपेटी खाली गर्न सम्बन्धित व्यवसायीहरूलाई आग्रह गरिएको छ ।
नगरपालिकाले तोकिएको समयभित्र सामग्री नहटाए प्रचलित कानून बमोजिम नगरपालिकाले नै हटाउने तथा त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यवसायीबाट असुल गरिने चेतावनी समेत दिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



