
झापा, २ जेठ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शृङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।
यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो । नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा गर्यो । अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक–एक विकेट लिए ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८९ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन् । शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रहार गर्दै ५० रन बनाएर आउट भएका हुन् ।
यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अङ्क बनाएको छ । छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अङ्क छ । खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अङ्क बनाएको छ भने स्कटल्यान्ड ३८ अङ्कसहित खेल तालिकाको अग्र स्थानमा छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



