
बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री तथा व्यावसायिक प्रविधि हस्तान्तरण गरेको छ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालसँगको साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा १ सय १७ जना व्यक्तिलाई सहायक सामग्री तथा प्रविधि हस्तान्तरण गरिएको हो। नगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले लक्षित वर्गका व्यक्तिहरूलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउन सिपी ह्विलचियर, साधारण ह्विलचियर, हियरिङ एड (श्रवण यन्त्र), कमोड चियर, रोलेटर वाकर, ट्राइपड स्टिक, एल्बो क्रच, वैशाखी, सेतो छडी र ट्राइसिकल जस्ता आवश्यक सामग्रीहरू वितरण गरेको छ। यसैगरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले डिपफ्रिज, सिलाई मेसिन, डिजिटल काँटा, साउन्ड सिस्टम, काठको सोकेस र्याक, ठेलागाडा तथा चापकटर जस्ता प्रविधिहरू समेत प्रदान गरिएको छ। सामग्री वितरणका साथै नगरपालिकाले लक्षित वर्गको सीप विकासका लागि लोकसेवा तयारी कक्षा र कम्प्युटर शिक्षालगायतका विभिन्न तालिमहरू समेत सञ्चालन गर्दै आएको महिला बालबालिका शाखा अधिकृत पुष्पा कार्कीले जानकारी दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नगरपालिका तथा वडा कार्यालयहरू ध्वस्त भई पुनर्निर्माणका कारण खर्चको दायित्व बढेको अवस्थामा पनि अपाङ्गता भएका व्यक्तिहरूको सेवा-सुविधा कटौती नगरिएको बताउनुभयो। उहाँले यस कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालसँगको साझेदारीमा कुल ९० लाख रुपैयाँको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उक्त कार्यक्रमका लागि बिर्तामोड नगरपालिकाको तर्फबाट वार्षिक ३० लाख रुपैयाँ वितरण भइरहेको उहाँले स्पष्ट पार्नुभयो।
सामग्री वितरण कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य निर्मला सुनार, संगीता सिवा, वरिष्ठ योजना अधिकृत जय तिम्सिना,
न्यायिक समिति सदस्य खडानन्द निरौला तथा मेची बहिरा सङ्घका अध्यक्ष देवीप्रसाद निरौलालगायत स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


