
झापा, १३ जेठ । मोरङ विराटनगर महानगरपालिका–६ स्थायी घर भई हाल जिल्ला झापा दमक नगरपालिका–८ बस्ने वर्ष ३५ का भोला भन्ने भगवान लाल राय पक्राउ परेका छन् ।
उनी लागूऔषध सम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेका थिए । प्रहरीले उनको साथबाट यसअघि प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८२/०५/१९ गते साँझ करिब ७ बजे झापाको कमल गाउँपालिका–५ पाँडार्जुगीबाट लागूऔषध कसुरमा पक्राउ परेका रायलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।
यसैबीच, २०८२/०५/२४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षबाट भागी फरार भएका थिए ।
फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा मिति २०८३/०२/१२ गते राति करिब ८ः४० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–६ पूर्व बसपार्क क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


