
बिर्तामोड, २४ जेठ । बिर्तामोड नगरपालिकाले नगरका दुई जना उत्कृष्ट गणित शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ।
नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन सफल शिक्षकलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा सामुदायिक विद्यालयतर्फ वडा नम्बर २ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक चुडामणी पौडेल र संस्थागत तर्फ वडा नम्बर ७ को कञ्चन अंग्रेजी बोर्डिङ स्कूलका शिक्षक सागर कोईराला हुनुहुन्छ।
शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार कक्षा ८ को परीक्षामा साङ्गवेद संस्कृत माविले औसत स्तरीकृत अंक ३.२५ र कञ्चन बोर्डिङले ३.६२ हासिल गरेका थिए। नगरपालिकामा आयोजित ‘शैक्षिक सत्र २०८३ को कार्ययोजना तथा प्रतिबद्धता हस्ताक्षर’ कार्यक्रमका बीच दुवै शिक्षकलाई सम्मान गरिएको हो।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र उपसचिव तिलचन भण्डारीले उहाँहरूलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गर्नुभयो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


