
काराकास, ११ असार (एजेन्सी) । भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ ३९ सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार ७.५ म्याग्निच्युडको मुख्य भूकम्प जानुअघि ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको थियो।
‘सेस्मिक डब्लेट’ भनिएको उक्त घटनापछि पुएर्टो रिको र अमेरिकी भर्जिन टापुका लागि जारी गरिएको सुनामी चेतावनी पछि खारेज गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भेनेजुएलाको काराबोबो राज्यको मोन्टालबान नगरपालिका क्षेत्रमा रहेको थियो। १३.२ किलोमिटर गहिराइमा गएको भूकम्पका कारण काराकाससहित विभिन्न क्षेत्रमा धक्का महसुस भए पनि क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन।
यसअघि सन् २०१८ मा भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।


