
झापा, १८ असार । गते कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागू औषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका- ६ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिगई चेकचाँच गर्दा सोही स्थानका २१ बर्षीय सुमन लिम्बु र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैचा-१० बाट सोहि स्थानका भानुभक्त लिम्बु, बिप्लव परियार, सुन्दरहरैचा- ८ का किरण राई र बेलबारी-२ का शुसिल राईलाई ट्रामाडोल स्पास गरी जम्मा ४६० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको झापा गाउँपालिका-४ बाट प्रहरी चौकी टाघनडुब्बा र लागू औषध नियन्त्रण ब्यूरो काकँडभिट्टाले दमक-८ का चन्द्र बहादुर तामाङ र भारत किशनगंजका अब्दुल रहमानलाई २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी केर्खाले कमल गाउँपालिका-४ बाट गौरादह नगरपालिका- १ का बिक्रम बस्नेतलाई ट्रामाडोल २० क्यापसुल सहित पक्राउ गरेको हो ।
चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले प्र.१-०२००१ च ४५३१ नम्बरको EV गाडी भित्रबाट जेब्रा झोला र बोरा भित्र लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा बरामद गरेसँगै ओसारपोसारमा संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-९ का लोक बहादुर राई र भोजपुर साल्पासिलिचुङ गाउँपालिका-२ की बिनिता कार्कीलाई पक्राउ गरेको हो ।


