
झापा, २५ असार । नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरूले अध्ययन भ्रमणका क्रममा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको स्थलगत अवलोकन गरेका छन् ।
नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालन भइरहेको १४औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा सहभागी महासेनानीहरूको टोलीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा स्वागत गर्दै प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले कोशी प्रदेश प्रहरीको प्रशासनिक गतिविधि, अपराध अनुसन्धान, शान्ति सुरक्षा, प्रहरी कार्यसम्पादन, ट्राफिक व्यवस्थापन, विद्यमान सुरक्षा चुनौती, विपद् व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी तथा सुरक्षा निकायहरूबीचको समन्वय, सहकार्य र असल अभ्यासबारे जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा सहभागी महासेनानीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ दिँदै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्तमान सुरक्षा परिवेशमा नेपाल प्रहरी र नेपाली सेनाबीचको समन्वय, आपसी सहकार्य तथा सूचना आदान–प्रदानले राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाएको बताए।
कार्यक्रममा नेपाली सेनाका सहायक रथी बालकृष्ण कार्की, सहायक रथी कमल बानियाँ, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापा तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।


