
काठमाडौ, १ साउन । युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान गएको छ ।
पूर्वी युगान्डामा शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ । पछिल्ला वर्षहरूमा बालबालिका संलग्न भएका गाडी दुर्घटनाहरूमध्ये यो देशकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो ।
गएराति कापचोरवा क्षेत्रमा भएको दुर्घटनामा कर्मचारीलगायत अन्य धेरै व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि सङ्ख्या उल्लेख छैन ।
स्थानीय अधिकारीहरूका अनुसार चेकवाटिट पहाडमा चालकले नियन्त्रण गुमाउनुअघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सडकको यो खण्डमा यसअघि पनि धेरै गम्भीर दुर्घटनाहरू भइसकेका खबरमा उल्लेख छ ।
विद्यार्थीहरू पर्यटकीय क्षेत्र सिपी फल्सको शैक्षिक भ्रमण गरेर फर्किँदै थिए । ट्राफिक अधिकारीहरूका अनुसार युगान्डामा हरेक वर्ष धेरे सङ्ख्यामा गाडी दुर्घटना हुने गरेका छन् । यसका मुख्य कारणहरूमा तीव्र गति, मर्मत नगरिएका गाडी र जोखिमपूर्ण सडकहरू पर्दछन् ।


