
झापा, ३ साउन । देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै जल तथा मौसम विज्ञान विभागले आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसत स्थानभन्दा केही माथि तर पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय बनेको हो। अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने महाशाखाले जनाएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा जारी रहने सम्भावना छ। राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्ने चेतावनी दिँदै नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।


