
झापा, ३ साउन । सरकारले बाढी, पहिरो र डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रभावित जिल्लामा जोखिमको अवस्था मूल्याङ्कन गरेपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले देशका २१ जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार सम्भावित बाढी र पहिरोको उच्च जोखिम रहेका सडकखण्डमा नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै सवारी सञ्चालनमा रोक लगाइएको हो।
“पहिरोको उच्च जोखिम भएका क्षेत्रमा सवारी सञ्चालन नगर्न आग्रह गरेका थियौँ,” उनले भने, “आज पनि मौसम र सडकको वास्तविक अवस्थाको मूल्याङ्कन गरेर मात्रै सवारी सञ्चालन खुला गरिनेछ।”
उनका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम कम भएको पुष्टि भएपछि मात्र राजमार्ग तथा अन्य सडकमा सवारी आवागमन सञ्चालन गर्न अनुमति दिइनेछ।
प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएर मात्रै यात्रा गर्न, जोखिमयुक्त सडकमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ।


