बिर्तामोड, १७ साउन । नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घ केन्द्रीय समितिले ‘सुकुम्बासी तमु (गुरुङ) विद्यार्थी आर्थिक सहयोग अभियान’ अन्तर्गत सङ्कलन गरिएको १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
१५ दिनसम्म सञ्चालन गरिएको अभियानबाट सङ्कलित उक्त रकम शनिबार काठमाडौंको मित्रनगरस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा सुकुम्बासी गुरुङ विद्यार्थी विश्वनाथ गुरुङ र उहाँको परिवारलाई हस्तान्तरण गरिएको हो।


कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष पवन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिका अध्यक्ष धनमान गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्का वरिष्ठ उपाध्यक्ष दिल तमु लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका तमु (गुरुङ) समुदायका १० जना विद्यार्थीलाई सम्मानपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
यसै अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घका पूर्व अध्यक्ष दिल तमुलाई बधाई तथा सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षा, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको माध्यमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको भविष्य निर्माणमा यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। साथै आवश्यकतामा रहेका विद्यार्थीहरूको सहयोगका लागि यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो।




