
झापा, ३१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिपी कोइराला, गणेशमान सिंहजस्ता राष्ट्रिय नेताहरूलाई निजीकरण गरेर घरभित्र कैद गर्न नहुने बताउनुभएको छ।
नेपाली कांग्रेसका नेता धर्म गौतमद्वारा लिखित पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको चर्चा अहिले व्यापक रूपमा भइरहेको बताउनुभयो।
बिपीका विचार र अभिव्यक्तिबारे दुई–तीन जना बसेर ‘बिपीले यसो भन्नुभएको थियो’ भन्ने गरिएको सुनिए पनि त्यसको आधिकारिकता पुष्टि गर्ने पुस्तक तथा दस्ताबेजको अभाव रहेको उहाँले बताउनुभयो।
“दुई–तीन जना बसेर बिपीले यसो भन्नुभएको थियो भन्ने गरेको सुनिन्छ, त्यसको कुनै आधिकारिकता हुँदैन। कुनै पुस्तक हुँदैन, दस्ताबेज हुँदैन। त्यसका लागि पनि धर्म गौतमजस्ता ऐतिहासिक पृष्ठभूमि भएका व्यक्तिको पुस्तक प्रकाशन हुन जरुरी छ,” उहाँले भन्नुभयो।
कांग्रेस राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै थापाले निर्वाचनमा ठूलो दल बन्न नसके पनि राष्ट्रिय शक्तिको पार्टीका रूपमा कांग्रेसको पहिचान कसैले खोस्न नसक्ने दाबी गर्नुभयो।
कांग्रेस संस्थापन इतर समूहले हालै गरेको भेलाका विषयमा सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी जानकारी गराइने भएकाले त्यसबारे आजै प्रश्न नगर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
पुस्तकका लेखक तथा कांग्रेस नेता गौतमले विगतका सबै नेता गाली गर्न लायक मात्र नभई सराहना गर्न लायक पनि रहेको तथ्य भावी पुस्तालाई जानकारी गराउन आफूले पुस्तक लेखेको बताउनुभयो।
उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालासँग जोडिएका राजनीतिक तथा वैचारिक विषयलाई पुस्तकमा समेटिएको जानकारी दिनुभयो। पुस्तकमा बिपीको विचार, दर्शन, साम्यवादमा प्रजातन्त्र थप्दा समाजवाद र समाजवादबाट प्रजातन्त्र झिक्दा साम्यवाद हुने अवधारणाका साथै बिपीको विचार र मदन भण्डारीको बहुदलीय जनवादबीचको भिन्नतालगायत विषयमा चर्चा गरिएको उहाँले बताउनुभयो।
गौतमले पुस्तक बिक्रीबाट प्राप्त रकममा परिवारका तर्फबाट समेत थप गरी गाउँको सामुदायिक स्वास्थ्यचौकी र महेश्वरा आधारभूत विद्यालयलाई आधुनिक सुविधासम्पन्न बनाउन सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो। यसमा परिवारका सदस्यसमेत सहमत रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा पुस्तकबारे वरिष्ठ पत्रकार हरिहर विरहीले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो। उहाँले धर्म गौतमजस्ता राजनीतिज्ञले आफ्नो समयको राजनीतिक इतिहास लेखेर गएमा भावी पुस्ताले त्यसबाट लाभ लिनुका साथै विगतका राजनीतिक तथ्यसमेत उजागर हुने बताउनुभयो।


