
झापा, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कचनकवल गाउँपालिकाले रु २९ लाख छ हजार १०० सहयोग गर्ने भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गर्न लागिएको हो।
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिबाट रु ७१ हजार, गाउँपालिका कर्मचारीबाट रु नौ लाख २२ हजार ५२४ तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रु १८ लाख १२ हजार ५६७ सङ्कलन गरिएको छ ।
गत भदौ १० गते हिमताल विस्फोटपछि रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्थानीय तह, सरकारी निकाय, सङ्घसंस्था तथा सर्वसाधारणले सहयोग गरिरहेका छन्।


