
झापा, २ असोज । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकीका पहाडी भूभागका केही स्थान तथा बागमतीका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा समेत वर्षा हुनसक्नेछ।
यस्तै, कोशी प्रदेशको तराईका केही, मधेस तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।


