
झापा, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न आवेदन आह्वान गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको जनाएको छ।
सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जना माग गरिएको छ। यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना गरी कुल १२३ पदमा आवेदन खुलाइएको छ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन दिनुअघि सम्बन्धित पदको शैक्षिक योग्यता, उमेर, शारीरिक मापदण्ड, आवश्यक कागजात तथा अन्य योग्यता र सर्तहरू सम्बन्धी विस्तृत सूचना हेर्न प्रहरीले आग्रह गरेको छ।




