
झापा, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्र १३ वटा शव फेला परेका छन्।
शुक्रबार बिहान ६ वटा शव निकालिएकोमा दिउँसो थप ७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। टनेलभित्र फेला परेका सबै शव बाहिर निकालिएको सेनाले जनाएको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलभित्र निरन्तर खोजी कार्य गरिरहेको छ। अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला परेका हुन्।
बाढीपछि आयोजनामा कार्यरत ४९२ जना सम्पर्कविहीन रहेको बताइएको छ। आयोजनामा कुल १ हजार ४३३ जना कार्यरत थिए।
कोरियाली लगानीमा निर्माण भइरहेको उक्त जलविद्युत् आयोजनामा बाढीपछि ठूलो क्षति पुगेको हो।
यसैबीच त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनाका टनेल तथा पावर हाउस क्षेत्रमा पनि उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।


