
जनकपुरधाम, ४ असोज । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ स्थायी घर भएका ७० वर्षीय किशोरी सहनी रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालका अनुसार सहनी आफ्नै घरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार गएराति करिब पौने १ बजे अचानक घरमा आगलागी भएको थियो। आगलागीपछि बाहिर निस्कने क्रममा ढोका खोल्न नसकेपछि सहनी घरभित्रै फसेका थिए। घटनामा उनको जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आगलागीका क्रममा सहनीकी नातिनी भने भागेर सुरक्षित हुन सफल भएकी छन्।
अवकाशप्राप्त शिक्षकसमेत रहेका सहनीको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति करिब १ः२० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको डीएसपी खनालले बताए।
आगलागीबाट घरभित्र रहेका सामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


