
इलाम, ५ असोज । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोरअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै आजदेखि यातायात सेवा सुरु भएको छ।
इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलामा २ करोड २० लाख ३४ हजार रुपैयाँ लागतमा २३० फिट लामो र १४ फिट चौडा बेलिब्रिज जडान गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनियर अर्जुनकुमार घिमिरेले जानकारी दिए ।
भारतबाट अनुदानमा प्राप्त सामग्री ढुवानीमा ढिलाइ हुँदा पुल जडानमा समय लागेको थियो। गत असोज १८ गतेको बाढीले यसअघि रहेको बेलिब्रिज बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो।
नयाँ बेलिब्रिज बनेसँगै मेची करिडोर मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा सञ्चालनमा आएको छ। इलाम–बिर्तामोड सडकको दूरी करिब ५० किलोमिटर रहेको छ।


