
झापा, ५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ। असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया उत्साहपूर्वक सम्पन्न भएको छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरीलगायत अधिकांश जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।
भदौ १० गतेको भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन बाँकी छ। यस्तै सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ लगायतका क्षेत्रमा पनि अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
बाँकी रहेका तथा असोज ४ गते सम्पन्न हुन नसकेका वडामा असोज ५ गते सोमबार पनि अधिवेशन सञ्चालन हुने समितिले जनाएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।


