
बुद्धशान्ति, ५ असोज । झापाको बुद्धशान्ति गाउँपालिका–१ ले सामुदायिक विद्यालयका आधारभूत तहमा अध्ययनरत कमजोर विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न यस वर्ष पनि ‘क्लोज क्याम्प’ सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले केही वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रमका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
वडाध्यक्ष अनिल वाग्लेका अनुसार वडाका तीनवटै सामुदायिक विद्यालयलाई समान १–१ लाख रुपैयाँ छुट्याइएको छ । बुद्धआदर्श माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय र नमुना आधारभूत विद्यालयले उक्त बजेटबाट क्लोज क्याम्प सञ्चालन गर्नेछन् ।

क्लोज क्याम्पअन्तर्गत प्रत्येक विद्यालयले तीन–तीन जना शिक्षक नियुक्त गर्नेछन् । उनीहरूले विद्यालयमा मात्र नभई विद्यार्थीलाई पायक पर्ने टोल तथा बस्तीमै पुगेर बिहानको समयमा अध्यापन गराउनेछन् ।
वडाका विभिन्न ९ स्थानमा सञ्चालन हुने क्लोज क्याम्प १०० दिनसम्म चल्नेछ । यसका लागि ९ जना शिक्षकले १०० दिनको रोजगारीसमेत पाउनेछन् । कमजोर विद्यार्थीलाई उनीहरूकै घरनजिक वा पायक पर्ने स्थानमा अतिरिक्त कक्षा सञ्चालन गरिने भएकाले कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई सहज हुने वडा कार्यालयको अपेक्षा छ ।
अभिभावकहरूले समेत विगतमा सञ्चालन गरिएको क्लोज क्याम्पबाट पढाइमा कमजोर विद्यार्थीको शैक्षिक अवस्थामा सुधार आएको बताएका छन् ।
वडा नम्बर १ ले शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै आएको छ । वडामा दुई स्थानमा गुरुकुलसमेत सञ्चालनमा रहेका छन् ।


