
लन्डन, ५ असोज । बेलायतस्थित झापालीहरूको साझा संस्था झापाली समाज यूकेले अन्तरक्रिया कार्यक्रम तथा बैठक सोमबार लन्डनमा सम्पन्न गरेको छ। कार्यक्रममा संस्थागत विस्तार, आगामी कार्ययोजना र अन्तर्राष्ट्रिय समन्वयका विषयमा छलफल गर्दै विभिन्न निर्णय गरिएको छ।
झापाली समाज यूकेका अध्यक्ष टंक भट्टराईको अध्यक्षता तथा महासचिव देवी गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष चौलागाईंले झापाली समाज यूकेलाई राष्ट्रिय समितिको प्रमाणपत्र प्रदान गरे। त्यसैगरी अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय सदस्यमा पदेन सदस्य रहेका झापाली समाज यूकेका अध्यक्ष टंक भट्टराई तथा केन्द्रीय सदस्यमा मनोनित यूकेका उपाध्यक्ष गुरुप्रसाद लिम्बूलाई केन्द्रीय सदस्यको प्रमाणपत्र प्रदान गरिएको थियो।
बैठकले बेलायतमा रहेका झापालीहरूलाई समेट्दै संस्थाको सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ। नयाँ सदस्यहरूलाई सदस्यता प्रदान गर्दै बेलायतभर रहेका झापालीलाई साझा संस्थागत मञ्चमा जोड्ने विषयमा छलफल भएको थियो।
अन्तरक्रियाका क्रममा बेलायतमा रहेका झापालीबीच आपसी एकता, सहकार्य र भाइचारालाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूले विचार राखेका थिए। साथै झापाली समुदायको हितमा सामाजिक तथा रचनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत छलफल भएको जनाइएको छ।
‘हाम्रो झापा, हाम्रो पहिचान, हाम्रो एकता’ भन्ने मूल नाराका साथ क्रियाशील झापाली समाज यूकेले आगामी दिनमा सहकार्य, एकता र साझा प्रतिबद्धतासहित समुदायको हितमा विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


