
झापा, ६ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्वी बंगालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


