इलाम, ७ असोज । इलामको रोङ गाउँपालिका–५ देवनथापमा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मङ्गलबार राति करिब ७ः३० बजे देवनथापबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त १२३६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा झापाको मेचीनगर नगरपालिका–५ नकलबन्दा निवासी ४० वर्षीय चालक अमित धिमाल ट्र्याक्टरको अगाडिको भागले थिचिएका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी चौकी इरौटार र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको थियो । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी बिहीबार बिहान करिब १ बजे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



