
सन्तोष शर्मा
अर्जुनधारा, ७ असोज । झापाको अर्जुनधारा नगरपालिकामा आयुर्वेद सेवाप्रति नगरबासीको आकर्षण बढ्दै गएको छ । विगत चार वर्षको तथ्यांक हेर्दा नगरमा आयुर्वेद सेवाप्रति नगरबासीको आकर्षण बढ्दै गएको हो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ नगरपालिकाले आयुर्वेद सेवालाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । उहाँले नगरपालिकाले उपलब्ध स्रोतको समुचित उपयोग गरेर आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो ।
“सबैभन्दा ठूलो कुरा रोग लाग्न नै दिनु हुँदैन”, उहाँले भन्नुभयो, “लाग्यो भने पनि उचित उपचारका लागि नगरपालिका प्रयासरत छ ।” उहाँले अव्यवस्थित जीवन शैलीका कारण रोगको जोखिम बढ्दै गएकाले जीवनशैलीलाई व्यवस्थित गर्दै उचित खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
अर्जुनधारा नगरपालिकाअन्तर्गत आयुर्वेद शाखाबाट पछिल्ला चार आर्थिक वर्षमा मात्रै ४६ हजार ९ सय ३६ पटक बिरामीले पूर्वपञ्चकर्म (आयुर्वेद थेरापी) सेवा लिएका छन् । आयुर्वेद शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा ९ हजार ८ सय ५०, २०८०÷८१ मा ९ हजार ५ सय ५३, २०८१÷८२ मा १३ हजार २ सय ४४ र २०८२÷८३ मा १४ हजार २ सय ८९ पटक पूर्वपञ्चकर्म सेवा लिएका छन् ।
विशेषगरी पक्षाघात, नसासम्बन्धी समस्या, हाडजोर्नी तथा पिनास लगायतका समस्याबाट प्रभावित बिरामीले थेरापी सेवा लिँदै आएको आयुर्वेद शाखाले जनाएको छ । शाखाका अनुसार पछिल्ला वर्षमा यो सेवा लिने बिरामीको संख्या क्रमशः बढ्दै गएको छ ।
३५ हजारभन्दा बढीलाई ओपीडी सेवा
आयुर्वेद शाखाबाट उपलब्ध गराइएको ओपीडी सेवामार्फत चार वर्षमा ३५ हजार ८ सय जनाले उपचार तथा औषधि सेवा लिएका छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा ८ हजार ६ सय ८५, २०८०÷८१ मा ७ हजार ८ सय ८९, २०८१÷८२ मा ९ हजार ४ सय ९२ र २०८२÷८३ मा ९ हजार ७ सय ३४ जनाले ओपीडी सेवा लिएका छन् ।
शाखाले विशेष आयुर्वेद स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । शिविरबाट पाइल्स, फिस्टुला लगायत मलद्वारसम्बन्धी समस्या तथा वात, हाडजोर्नी र नसासम्बन्धी समस्या भएका १ हजार ८ सयभन्दा बढी बिरामीले उपचार, औषधि र परामर्श सेवा पाएको जनाइएको छ ।
गाउँघर क्लिनिकदेखि जीवनशैली सुधारसम्म
अर्जुनधारा–३ खुदुनाबारीमा आयुर्वेद गाउँघर क्लिनिक तथा पूर्वपञ्चकर्म (थेरापी) सेवा नियमित सञ्चालनमा रहेको शाखाले जनाएको छ । हाल औषधालयबाट दैनिक ४० देखि ४५ जनासम्म बिरामीले पूर्वपञ्चकर्म (थेरापी), स्वास्थ्य परीक्षण, औषधि वितरण तथा परामर्श सेवा लिँदै आएका छन् ।
आयुर्वेद शाखाले उपचारसँगै रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवद्र्धनलाई समेत प्राथमिकता दिएको छ । विगत चार आर्थिक वर्षमा वडा तहमा आयुर्वेद तथा स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनामूलक अभिमुखीकरण तथा भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा स्थानीय बासिन्दा, आमा समूह तथा जनप्रतिनिधिसहित २ हजारभन्दा बढी सहभागीलाई खानपानमा गर्नुपर्ने सुधार, भान्सामा अपनाउनुपर्ने स्वास्थ्यकर अभ्यास, दिनचर्या, रात्रीचर्या, ऋतुचर्या तथा स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिइएको छ ।
नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा शिक्षिकालाई आयुर्वेद र योग शिक्षासम्बन्धी तालिमसमेत प्रदान गरिएको शाखाले जनाएको छ । सेवा विस्तारसँगै आयुर्वेद औषधालयको भवन मर्मत, खानेपानी व्यवस्थापन तथा रंगरोगन गरिएको छ । पूर्वपञ्चकर्म कक्षको मर्मत तथा रंगरोगनका साथै बेरा उपचार सेवाका लागि अग्निकक्षा निर्माण र आवश्यक सामग्रीको व्यवस्थापन गरिएको शाखाले जनाएको छ ।


