
झापा, ८ असोज । अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनाको अनुसन्धानका क्रममा झापाको मेचीनगरमा मानव कङ्काल फेला परेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ निवासी दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गते मेचीनगर नगरपालिका–६ काँकडभिट्टाबाट हराएका थिए । उनको खोजीका लागि पत्नी तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन् ।
घटनाको अनुसन्धानका क्रममा दिलनाथसँगै हिँड्ने नजिकका साथी राम भनिने गुप्त बहादुर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सिंहले दिएको सूचनाका आधारमा प्रहरीले घटनास्थल पहिचान गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–७ स्थित भान्सा खोला (गैरी गाउँ) मा सिंहले सञ्चालन गरेको बंगुर फार्मभित्र जयप्रसाद तिवारीको जग्गामा उत्खनन गरिएको थियो । प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहवरमा जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव आकृतिको कङ्काल फेला परेको हो ।
फेला परेको कङ्काललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
डीएनए परीक्षणपछि मात्रै पहिचान खुल्ने
फेला परेको कङ्काल दिलनाथ बजगाईंकै हो वा होइन भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । शव परीक्षणपछि कङ्कालबाट नमुना संकलन गरी डीएनए परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको छ । डीएनए परीक्षणको प्रतिवेदनपछि मात्रै कङ्कालको पहिचानबारे यकिन हुने प्रहरीले जनाएको छ ।
दुई जना पक्राउ
प्रहरीले घटनाको अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय गुप्त बहादुर सिंह ‘राम’ रहेका छन् । उनको स्थायी घर म्याग्दी रहेको र हाल उनी मेचीनगर नगरपालिका–१० मा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भारतको आलेपुर वीरपारा स्थायी घर भएका ४९ वर्षीय संजय लामा पनि पक्राउ परेका छन् । उनी हाल मेचीनगर नगरपालिका–८ मा बसोबास गर्दै आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


