
झापा, ८ असोज । पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् ।
एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । जनकपुर पहिलो संस्करणको विजेता हो ।
३६ वर्षीय इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ९९८ रन बनाउनुका साथै ८ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा ३२९ खेलमा १ शतक र ३५ अर्धशतकसहित ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट लिएका छन् ।
इफ्तिखारसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बङ्गलादेश प्रिमियर लिग ९बीपीएल० जस्ता टी–२० लिग खेलेको अनुभव छ ।
एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन् ।
एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।


