
झापा, ९ असोज । लगातारको वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेपछि सशस्त्र प्रहरी बल, नेपालले झापाका नदी तथा खोलानजिकका बस्तीमा सचेतनामूलक माइकिङ सुरु गरेको छ।
सशस्त्र प्रहरीका अनुसार असोज ८ देखि १२ गतेसम्म मेची, कनकाई र रतुवा नदी तथा बिरिङ खोलालगायतका आसपासका गाउँ–बस्तीमा नियमित रूपमा माइकिङ गरी स्थानीयलाई सम्भावित बाढी, डुबान तथा अन्य विपद्बारे सचेत गराइनेछ।
विपद्को समयमा खोज तथा उद्धार कार्यलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउन आवश्यक तयारीसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ। उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिको ट्र्याकिङ तथा अभिलेख राख्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्र केसीले जानकारी दिए।
जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी
सशस्त्र प्रहरीले नदी तथा खोलाको नियमित निगरानीसँगै जोखिमयुक्त क्षेत्रको नक्साङ्कन गरी नियमित गस्ती गर्ने जनाएको छ। पुल, तटबन्ध, कमजोर नदी किनार, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रलाई प्राथमिकतामा राखेर निगरानी गरिनेछ।
त्यस्तै, नदी तथा खोलाको पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे नियमित अवलोकन गरी अभिलेख राखिने सशस्त्र प्रहरीले जनाएको छ।
सम्भावित जोखिम देखिएमा तत्काल सम्बन्धित युनिटमा सूचना आदानप्रदान गरी आवश्यक जनशक्ति तथा उद्धार सामग्री परिचालन गर्ने तयारी गरिएको छ।
पूर्वसूचना, निगरानी, तत्काल उद्धार तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँदै स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरी निरन्तर सक्रिय रहने सूचना अधिकारी केसीले बताए।
सशस्त्र प्रहरीले नदी तथा खोलानजिकका बस्तीका बासिन्दालाई पानीको सतह बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान, जोखिमयुक्त क्षेत्रमा नजान तथा सुरक्षाकर्मीले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।


